साहित्य

‘नेपालमा लैङ्गिक समानता तथ्य र तथ्याङ्क’ पुस्तक सार्वजनिक

२५ वैशाख, काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले पछिल्लो दशकमा महिला तथा बालबालिकाको अवस्थामा सुधार आए पनि यस क्षेत्रमा अझै काम गर्न बाँकी रहेको बताएका छन् ।

मन्त्रालयले प्रकाशन गरेको ‘नेपालमा लैङ्गिक समानता तथ्य र तथ्याङ्क’ शीर्षकको पुस्तक सार्वजनिक गर्दै उनले विभिन्न अध्ययनले निकालेको निष्कर्षलाई समेट्दै प्रकाशन गरिएको पुस्तक सबैका लागि उपयोगी रहेको छ भने । उनले यसलाई अझ सात सय ५३ वटै पालिकालाई समेट्ने गरी तथ्याङ्क विश्लेषण गर्न सकेको भए अझ प्रभावकारी हुने सुझाव दिए ।

“ज्येष्ठ नागरिक, अपाङ्गता भएकाको क्षेत्र, सम्मानित महिनावारीलगायतका विषयमा पनि अझ काम गर्न सकिन्छ”, उनले भने, “विकास साझेदारले सहयोग गर्नुभयो भने अझ धेरै क्षेत्र हामी काम गर्न सक्छौँ, विषयवस्तु बृहत्तर बनाउन पनि सहज हुनेछ ।”

मन्त्री चौधरीले अझै पनि ७९ दशमलव ८ प्रतिशत महिला हिंसामा पर्ने गरेको तथ्याङ्क हुनु दुःखद् रहेको बताए । उनले भने, “राजनीतिक रूपमा महिलाको सहभागिता ३३ प्रतिशत भए पनि निर्वाचितको सङ्ख्या भने ५ दशमलव ५ प्रतिशत मात्रै छ । आरक्षित सिट दिँदा सङ्ख्या धेरै छ तर प्रतिस्पर्धामा आउँदा हाम्रो सहभागिता न्यून नै छ ।”