सुदूरपश्चिम

‘अर्ग्यानिक’ स्याउ उपभोक्ताको रोजाइमा

११ असोज, सुदूरपश्चिम । आफ्नै जिल्लामा फलेको ‘अर्ग्यानिक’ स्याउ उपभोक्ताको रोजाइमा पर्दा बाजुराका किसान धनबहादुर रावल दङ्ग छन् । नजिकिएको चाडपर्वका समयमा स्याउको माग बढेपछि उनले यतिबेला बिक्रीका लागि धनगढी पुग्रेका छन् ।

“बिक्रीका लागि बुधबार धनगढी ल्याइपुर्याएको चार सय १७ पेटी छ हजार दुई सय ५५ किलो स्याउ दुई दिनमै बिक्री भइसक्यो”, उनले भने, “स्याउखेतीमा लागेका किसानले उत्पादन क्षेत्रमा उचित मूल्य नपाउँदा भने केही खल्लो महसुस भएको छ ।”

ेवर्षासँगै गएको पहिरोले बाजुरा–अछाम सडकखण्ड अवरुद्ध हुँदा उहाँले कालिकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया हुँदै कैलालीको धनगढीमा अर्ग्यानिक स्याउ बिक्रीका लागि ल्याएका छन् । आफ्नै प्रदेशको बाटो अवरुद्ध हुँदा स्याउको बजार खोज्न कर्णाली र लुम्बिनी प्रदेशका जिल्ला हुँदै ट्रकमार्फत ढुवानी गरेर धनगढी पुर्याउनुपरेको किसानको गुनासो छ ।

बाजुरा स्वामीकार्तिक गाउँपालिकाका किसान रावलको बारीमा रोपिएका एक हजार एक सय स्याउका बोटमध्ये यस वर्ष तीन सय बोटमा स्याउ फलेको थियो । फलेको स्याउ धनगढी बजारसम्म पुर्याउन एक ट्रकको ढुवानी भाडा ७० हजार परेको थियो ।

उत्पादन क्षेत्रमा सम्बन्धित किसानले भने प्रतिकिलो ४० मात्रै पाउने गरेका छन् । यो स्याउ धनगढी बजारमा भने एक सय २० मा बिक्री भएको छ । बाजुराबाट यसपालि सुर्खेतमा तीन ट्रक, छिन्चुमा दुई र कैलालीको बौनिया र धनगढीका लागि एक–एक ट्रक स्याउ बजारीकरणका लागि ल्याइएको विक्रेताको भनाइ छ ।

किसान दानबहादुरले सडकको भरपर्दो सुविधा नहुँदा उत्पादित स्याउ बजारसम्म पुर्याउन मुस्किल भएको बताए। त्यहाँ उत्पादित स्याउ कतिपय समयमा बिक्री नहुँदा त्यसै सडेर खेर जाने र पशुचौपायालाई खुवाउनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

बाजुराको हिमाली भेग पाण्डुसैन, बुढीनन्दा, स्वामीकात्तिक र जगन्नाथ गाउँपालिका अर्ग्यानिक स्याउ उत्पादनका लागि प्रख्यात छन् । स्याउको बजारीकरणमा भइरहेको समस्यासँगै व्यापारीले यो स्याउ बजारसम्म पुर्याउन चर्को ढुवानी भाडा तिर्नुपरेको छभने किसानले उचित मूल्य पाउन सकिरहेका छैनन् ।

उत्पादनस्थलसम्म सडकको पहुँच नहुनु, भएका सडक पनि बर्खायाममा भत्किएर बन्द हुनु, भाण्डारणका लागि उचित व्यवस्था नहुनुजस्ता समस्याले उत्पादित स्याउ बजारसम्म पुर्याउन समस्या हुने गरेको उनीहरूको भनाइ छ । सरकारी निकायबाट किसानको अपेक्षाअनुसार सहयोग नपाउँदा स्याउको बजारीकरणमा समस्या भइरहेको गुनासो पनि किसानको छ ।

बाजुराको अर्ग्यानिक स्याउ धनगढी पुगेपछि स्थानीय उपभोक्ताले पनि यसको स्वाद पनि लिन पाएका छन् । धनगढीका फणिन्द्र जोशीले बाजुराको स्याउ रसिलो र स्वादिलो भएको अनुभव सुनाए। सुदूरपश्चिम प्रदेशको धनगढीलगायतका सहरी क्षेत्रका फलफूल बजारमा भारतबाट आयातित स्याउको कारोबार हुने गरेको छ ।