१४ असोज, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीकी राजकुमारी चौधरी दसैँको तयारीमा जुटेका छन्। उनी घर लिपपोत गर्ने, दुनाटपरी बनाउने, कुटानी–पिसानी गर्ने कार्यमा चौधरी व्यस्त भएका हुन् । “दसैँ आउन केही दिन मात्रै बाँकी छ”, उनले भने, “बर्सातका कारण कार्य गर्न पाएनौँ, अहिले व्यस्तता बढेको छ ।”
सामुदायिक वनबाट सालका पात टिपेर ल्याएकी शान्ता चौधरी दुनाटपरी बनाउने कार्यमा लागेका छन् । दसैँमा पाहुनालाई परिकार पस्कनका लागि दुनाटपरी बनाउने कार्यमा लागेको उनले बताए । थारू समुदायले महत्वपूर्ण पर्वका रुपमा दसैँलाई मनाउने गर्दछन् । अधिकांश थारु समुदायले कुटानी–पिसानी गर्ने कार्यसँगै तोरीको तेल पेल्ने कार्य गरिसकेका छन् । नदी, तलाउहरुमा माछा मार्ने थारू समुदायका महिला पुरुषको लर्को नै लागेको छ ।
दसैँमा पाहुना बस्न आएकासँग माछाका परिकार खाइने भएकाले त्यसको जोहो मिलाउनमा थारू समुदाय लागेका छन् । घरमै बनाइएको जाँड तथा रक्सी दसैँमा खाइने भएकाले त्यसको जोहो गर्नमा लागेको स्थानीय गीता चौधरीले बताए । “घरमै रहेको चामलबाट जाँड र रक्सी बनाउने कार्यमा लागेको छु”, उनले भने, “बजारको भन्दा घरमै बनाइएको जाँड र रक्सी बढी रुचाइने भएकाले यसकै व्यवस्थामा जुटेको छु ।” माटो खरिद गरी घरमा ल्याएर लिपपोतको कार्य गरिरहेको स्थानीय सङ्गीता चौधरीले बताए ।
“पहिला सामुदायिक वन र नदी तलाउ क्षेत्रबाट माटो ल्याएर घर लिपपोतको कार्य गर्दथ्यौँ”, उनले भने, “हाल माटो झिक्न दिँदैनन्, त्यही भएर कालागौंडीबाट एक ट्र्याक्टरको ट्राली माटो खरिद ल्याएका छौँ, त्यही माटोबाट घर लिपपोतको कार्य गरिरहेका छौ ।” परिवर्तित समयअनुसार धेरै थारू परिवारले पक्की घर बनाएकाले पहिलाजस्तो लिपपोत गर्ने कार्य भने अहिले हुने गरेको छैन । दसैँका लागि बङ्गुर, भेडा, खसीबोकालगायत खरिद गर्न खोज्दै हिँडेको पिपलाडीकै चेतराज चौधरीले बताए ।
“दसैँका लागि आवश्यक पर्ने कुखुरा घरमै छन्”, उनले भने, “बङ्गुर, भेडा, खसीबोका घरमा नभएकाले खरिद गर्नका लागि गाउँ चहार्दै हिँड्नुपरेको छ ।” बर्सातका कारण काम समयमै गर्न नपाउँदा छोटो अवधिमा सबै वस्तुको जोहो मिलाउनु परेकाले निकै व्यस्तता बढ्नु स्वाभाविक भएको उहाँले उल्लेख गरे ।
दसैँका अवसरमा देखाइने सखिया नृत्यका लागि परम्परागत लेहेङ्गा, चोली बनाउने कार्यमा स्थानीय पुष्पा चौधरी लागेको छ । पुरानो चोली, लेहेङ्गालगायत फाटिसकेकाले नयाँ हातैले सिएर बनाउन लागेको उनले बताए । छुट्टै किसिमको पहिरनले पहिचान झल्काउने भएकाले बूढापाकाहरुबाट सिकेको सीपको सदुपयोग गर्दै लेहेङ्गा, चोली बनाउने कार्य गर्दै आएको उनले बताए । थारू समुदाय दसैँका अवसरमा मीठोमसिनो खाने, नयाँ लुगा लगाउने, परम्परागत नृत्यमा रमाउने गर्दछन् । गाउँका मान्यजन र परिवारका ज्येष्ठ सदस्यबाट चामलको सेतो टीका थापेर थारू समुदायले दसैँमा आशीर्वाद लिने गरेका छन् ।