अन्तर्राष्ट्रिय

इयुको आप्रवासन सम्झौता अघि बढाउने स्पेनका प्रधानमन्त्रीको चाहना

२३ असोज, मेड्रिड । स्पेनका प्रधानमनत्री पेड्रो सान्चेजले बुधबार शरणार्थी र आप्रवासीहरूको अनियमित आगमन व्यवस्थापन गर्ने युरोपेली सङ्घ इयु को नयाँ नियमहरू निर्धारित समयभन्दा एक वर्ष अघिनै सन् २०२५ मा लागु गर्न आह्वान गरेका छन् ।

स्पेनले क्यानरी टापूहरूमा आप्रवासी आगमनको वृद्धिसँग सङ्घर्ष गरिरहेको तथा हङ्गेरी र नेदरल्यान्ड्सले इयुको शरणार्थी नियमहरूबाट बाहिरिने प्रयास गरिरहेको बेला उनको यो आह्वान आएको हो ।

मे महिनामा अपनाइएको र सन् २०२६ मा लागु हुने इयुका नियमहरूको उद्देश्य २७ मुलुकको समूहभर आतिथ्यताको जिम्मेबारी बाँड्नु र बस्न अयोग्य ठहरिएकाहरूको निर्वासन प्रक्रियालाई तीव्रता दिनु हो ।

“भूमध्यसागरीय मुलुकहरूले प्राप्त गरिरहेको आप्रवासी प्रवाहको व्यवस्थापनमा सम्पूर्ण युरोप प्रभावकारी होस् भन्ने माग गर्दै हामी ब्रसेल्सबाट सह–जिम्मेबारी र एकताको नीतिको माग गर्दैछौँ”, सान्चेजले भने, “यस उद्देश्यका लागि हामी युरोपेली आयोगलाई आप्रवासन र शरणार्थीसम्बन्धी सम्झौताको लागू मिति अगाडि सार्न अनुरोध गर्नेछौँ जसबाट यसका प्रावधानहरू सीमा नियन्त्रण र आप्रवासी वितरण सन् २०२६ को गृष्ममा नभई सन् २०२५ को गृष्ममा कार्यान्वयन हुन थाल्नेछ ।”

इयुको प्रमुख प्रवेशद्वारमध्ये एक स्पेनबाट आप्रवासीहरू युरोपमा राम्रो जीवनको खोजीमा आउँछन् । गृह मन्त्रालयको तथ्याङ्कअनुसार यस वर्षको पहिलो नौ महिनामा ३० हजार आठ सय आठ आप्रवासी क्यानरी टापूहरूमा अवतरण गरे । यो अघिल्लो वर्षको समान अवधिमा आएको सङ्ख्याको दोब्बरभन्दा बढी हो । क्यानरी टापूहरू अफ्रिकाको उत्तरपश्चिम तटबाट नजिकमा पर्दछन् ।

सन् २०२३ मा करिब ४० हजार आप्रवासी यस टापू समूहमा प्रवेश गरेका थिए र यो यस वर्ष तोडिने क्रममा छ ।

क्यानरीको क्षेत्रीय सरकारले दुई हजारको आफ्नो क्षमताभन्दा धेरै करिब पाँच हजार पाँस सय आप्रवासी नाबालिगको हेरचाहमा रहँदा कहालीलाग्दो भएको बताएको छ ।

आगमन वृद्धिले स्पेनमा मतदाताहरूको चिन्ताको शीर्ष स्थानमा आप्रवासनलाई पुर्याएको छ । मङ्गलबार दैनिक पत्रिका एल पाइसमा प्रकाशित एक सर्वेक्षणअनुसार ५७ प्रतिशत स्पेनीले स्पेनमा धेरै आप्रवासी छन् भन्ने विश्वास गर्छन् भने ४१ प्रतिशतले आप्रवासीहरूबारे ‘चिन्तित’ रहेको बताएका छन् ।

प्रधानमन्त्री सान्चेजले यो मुद्दा ‘नाजुक’ भएको स्वीकार गरे । यद्यपि उनले स्पेनको ‘वर्तमान र भविष्यको समृद्धि’ सुनिश्चित गर्न ‘अत्यावश्यक’ भएको तर्क गर्दै आप्रवासनप्रति खुला दृष्टिकोण अपनाउन आह्वान गरे ।

“आज आधाभन्दा स्पेनी व्यवसायले श्रम खोज्न कठिनाइ भइरहेको रिपोर्ट गरिरहेका छन् र अधूरो रिक्त पदहरूको सङ्ख्या पहिलादेखि नै एक लाख ५० हजार नाघिसकेको छ”, उनले भने, “यो रेकर्ड स्तर हो जुन यदि हामीले केही गरेनौँ भने आगामी केही दशकमा धेरै गुणा हुनेछ ।”