समाचार

जुम्लामा १६ करोड बढीको भेडाखसीको कारोबार

२८ असोज, जुम्ला । यस वर्षको दसैँमा यहाँ १६ करोड मूल्य बढीको भेडाखसीको कारोबार भएको छ । सदरमुकाम खलङ्गा बजारमा मात्रै १६ करोड ३२ लाख ३१ हजार मूल्य बराबरको भेडाखसी किनबेच भएको चन्दननाथ नगरपालिका पशुपक्षी शाखा प्रमुख बीरबहादुर रावलले जानकारी दिए।

यहाँका भेडापालक किसान र अन्य जिल्लाबाट ल्याइएका गरी सात हजार नौ सय २८ भेडाखसी किनबेच भएका हुन् । चन्दननाथ नगरपालिका पशुपक्षी शाखा प्रमुख रावलले भने , “ १५ करोड २३ लाख २३ हजारका भेडा, ७७ लाख ९२ हजारका खसी र ३१ लाख १६ हजारका राँगा भैसी खरिद बिक्री भएका छन् ।” स्थानीय भेडाको अधिकतम मूल्य २८ हजार, न्युनतम १० हजार भएकामा औसत मूल्य १९ हजार तोकिएको थियो । जुम्ली खसीको अधितम मूल्य २४ हजार र न्यूनतम मूल्य आठ हजार भएकामा औसत मूल्य १६ हजार निर्धारण गरिएको थियो । अधिकतम् मुल्य ५० हजार र न्युनतम मुल्य २६ हजारमा किनबेच भइरहेका राँगाभैँसीको औसत मुल्य ३८ हजार निर्धारण गरी कारोबार मूल्याङ्कन गरिएको चन्दननाथ नगरपालिका पशुपंक्षी शाखा प्रमुख रावलको भनाइ छ ।

विसं २०६८ देखि तिब्बतबाट भेडा च्याङ्ग्रा ल्याउन छाडेपछि जुम्ली भेडाखसी मात्रै बिक्रीवितरण हुने गरेको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जुम्लामा ८८ हजार भेडा छन् । स्थानीय तहको केन्द्रहरुमा पनि भेडाखसीको कारोबार हुने गरेको छ । कनकासुन्दरी गाउँपालिकाको गोठीज्यूला, सिंजा गाउँपालिकाको नराकोट, हिमा गाउँपालिकाको जुगाड र बागबजार, तिला गाउँपालिकाको रारालिही, तातोपानी गाउँपालिकाको लिताकोट, पातारासी गाउँपालिकाको लासी बजार र उर्थुचौतारा, गुठीचौरी गाउँपालिकाको मणिसाँघु लगायतका बजारमा समेत भेडाखसीको कारोबार हुने गरेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ ।