अन्तर्राष्ट्रिय

मेक्सिकोको बारमा बन्दुकधारीको आक्रमण, १० जनाको मृत्यु

२५ कात्तिक, मेक्सिको । मेक्सिकोको मध्य भागमा रहेको क्वेरेटारो सहरको एक बारमा शनिबार बन्दुकधारीले आक्रमण गर्दा १० जनाको मृत्यु भएका छन् ।

क्वेरेटारोको सार्वजनिक सुरक्षा विभागका प्रमुख जुआन लुइस फेरुस्काका अनुसार आक्रमणकारीले शहरको लस क्यान्टारिटोस बारभित्र गोली चलाएका थिए ।

उनले सामाजिक सञ्जालमा आक्रमणस्थलको एक भिडियो पोष्ट गर्दै भनेका छन्, “आपतकालिन सेवाहरू घटनास्थलमा पुगेका छन् र एउटा पिकअप ट्रकमा लामो हतियारले सुसज्जित कम्तीमा चार जना व्यक्ति आएको पुष्टि भएको छ ।

उनले भने, “आक्रमणबाट घटनास्थलमा १० जनाको मृत्यु भएको थियो भने कम्तीमा सात जना घाइते भएका थिए।”

फेरुस्काका अनुसार एक संदिग्धलाई नियन्त्रणमा लिइएको छ र आक्रमणमा प्रयोग गरिएको गाडी बेवारिसे अवस्थामा फेला परेको छ ।

क्वेरेटारोलाई बढ्दो हिंसा, यसको अधिकांश हिस्सा लागुऔषध तस्करी र गिरोहसँग जोडिएको मेक्सिकोको सुरक्षित शहरमध्ये एक मानिन्छ ।

मेक्सिकोमा सन् २००६ देखि अहिलेसम्म चार लाख ५० हजार मानिसको हत्या भएको छ ।