अन्तर्राष्ट्रिय

वायनाडमा प्रियङ्का गान्धीलाई तीन लाखभन्दा बढी मतको अग्रता

८ मङ्सि, वायनाड । केरलाको वायनाड लोकसभा सीटमा भएको उपनिर्वाचनमा भारतीय काङ्ग्रेसका उम्मेदवार प्रियङ्का गान्धी वाड्राले तीन लाखभन्दा बढी मतान्तरले अग्रता कायम गरेका छन्।

गान्धीले चार लाख ६१ हजार ५६६ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी भारतीय कम्युनिष्ट पार्टी भाकपाका सत्यन मोकरीले एक लाख ५६ हजार ५६६ मत प्राप्त गर्नुभएको छ भने भारतीय जनता पार्टीका नव्य हरिदासले ८४ हजार ४९९ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

महाराष्ट्र र झारखण्डको विधानसभा चुनावसँगै १४ राज्यका ४८ विधानसभा निर्वाचन क्षेत्र र लोकसभाका दुई सिटका लागि भएको उपनिर्वाचनको सम्पूर्ण परिणाम शनिबार नै आउने अपेक्षा गरिएको छ ।

लोक सभाका लागि काङ्ग्रेस नेता राहुल गान्धीले यस वर्ष जुनमा भएको चुनावमा केरला राज्यको वायनाड र उत्तर प्रदेशको रायबरेलीबाट विजयी भएपछि वायनाडबाट राजिनामा दिनुभएको थियो । गान्धीले वायनाडबाट तीन लाख ६४ हजारभन्दा बढी मतको अन्तरले विजय हासिल गरेको थियो । उनको स्थानमा प्रियङ्का गान्धी वायनाडबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

वायनाडबाहेक महाराष्ट्रको नान्देड लोकसभा सीटमा पनि उपनिर्वाचन भएको छ । भारतीय जनता पार्टी भाजपाका उम्मेदवार सन्तुकराव हाम्बार्डे दुई हजार ६०० भन्दा बढी मतान्तरले अगाडि छन् । दोस्रो स्थानमा काङ्ग्रेस उम्मेदवार रविन्द्र चव्हाण रहेका छन् ।