अन्तर्राष्ट्रिय

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

८ मङसिर, गाजा । गाजामा शनिबार भएको इजरायली हमलामा कम्तीमा छ जना बालबालिका सहित १९ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।

एजेन्सीका प्रवक्ता महमुद बासलले गाजा पट्टीमा इजरायली हवाई आक्रमणले निम्त्याएको नरसंहारमा १९ जनाको मृत्यु भएको र ४० जना भन्दा बढी घाइते भएको बताएका छन् ।

आक्रमणले उत्तरी गाजाको जेइतुनको घरमा प्रहार गर्दा तीन जना बालबालिका सहित सात जनाको मृत्यु हुनुका साथै दश जना घाइते भएको जनाइएको छ ।

एएफपिटिभीको फुटेजमा मानिसहरूले अन्धकारमा टर्च तथा मोबाइल फोन प्रयोग गरेर भग्नावशेषमा खोज तलास गरिरहेको देखाएको छ ।

खान युनूस सहरमा भएको आक्रमणमा तीन बालकसहित छ जनाको मृत्यु भएको तथा २६ जना विस्थापित भएको बासलले बताएका थिए।

गाजा पट्टीको नुसेइराटमा एउटा घरमा भएको आक्रमणमा चार जनाको मृत्यु भएको तथा दक्षिणी सिमानाको रफाहमा भएको ट्याङ्क फायरमा दुई जनाको मृत्यु भएको उनले बताएका छन् ।