अन्तर्राष्ट्रिय

चीनका उच्च सैन्य अधिकारी मियाओ हुआविरूद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान जारी

१३ मङ्सिर, बेइजिङ । भ्रष्टाचार विरोधी कारबाहीमा परेका एक वरिष्ठ सैनिक अधिकारीलाई ‘अनुशासनको गम्भीर उल्लङ्घन’ गरेको आरोपमा पदबाट हटाइएको बेइजिङले बिहीबार जनाएको छ ।

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वु कियानले पत्रकार सम्मेलनमा भने, “सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीले मियाओ हुआलाई अनुसन्धान नभएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको छ ।”

वुले बेइजिङको शक्तिशाली सेन्ट्रल मिलिटरी कमिसन सीएमसी का सदस्य तथा एडमिरल मियाओविरुद्ध लगाइएको आरोपबारे थप जानकारी दिएनन् ।

मियाओ चीनको केन्द्रीय सैन्य आयोगमा राष्ट्रपति सी चिनफिङसहित अन्य पाँच सदस्यसँगै कार्यरत थिए ।

उनले चिनियाँ सैन्य आयोग सीएमसीको राजनीतिक कार्य विभागको नेतृत्व गरेको थिए । यो शीर्ष सैन्य निकायको सबैभन्दा महत्त्वपूर्ण कार्यालय हो।

एशिया सोसाइटीका वरिष्ठ फेलो लाइल मोरिसले मियाओलाई सीको ‘घनिष्ठ सहयोगी’ र सेना र पार्टीबीच ‘विश्वसनीय वार्ताकार’ का रूपमा वर्णन गरेको छन् ।

बेइजिङले गत वर्ष सशस्त्र बलमा कथित भ्रष्टाचारविरुद्ध कडा कदम चालेको बताएको थियो र यसै महिना सीले सेनालाई भ्रष्टाचार निर्मूल पार्न र आफ्नो ‘युद्ध तयारी’ लाई मजबुत बनाउन आदेश दिएको थिए ।

ब्लुमबर्गले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ, “सेनामा भ्रष्टाचार विरोधी अभियानको तीव्रता आंशिक रूपमा देखिएको छ र यसले भविष्यमा युद्ध गर्ने चीनको क्षमतामा असर पार्न सक्छ भन्ने डर उब्जिएको छ ।

एक विशेषज्ञले एएफपीसँग भने “मियाओलाई हटाउँदा सीको कडा प्रयासका बावजुद पीएलएमा भ्रष्टाचार र अनुशासनका मुद्दाहरूको सहनशीलता प्रकट हुन्छ।”

सिंगापुरको नानयाङ टेक्नोलोजिकल युनिभर्सिटीका सहायक प्राध्यापक डिलन लोहले भने, “मलाई लाग्छ, स्पष्ट प्रतिष्ठाको बावजुद खुला र सार्वजनिक रूपमा यी अनुसन्धानहरू अझै पनि भइरहेका छन् र यसले सीको भ्रष्टाचारलार्ई जरैदेखि उखेलेर फाल्ने सङ्कल्पलाई देखाउँछ।

सोही ब्रिफिङमा वुले रक्षामन्त्री डोङ जुनलाई भ्रष्टाचारको आरोपमा अनुसन्धानको दायरामा राखिएको भन्ने समाचारको खण्डन गरे ।

वूले भने, “प्रश्नमा आएका रिपोर्टहरू विशुद्ध मनगढन्ते छन्।”

उनले भने, “अफवाह फैलाउनेहरु गलत मनसायबाट प्रेरित भएको देखिन्छ । यस्तो निन्दनीय व्यवहारप्रति चीनले आफ्नो कडा असन्तोष व्यक्त गरेको छ ।”

नौसेनाका पूर्व कमाण्डर डोङलाई गत डिसेम्बरमा रक्षामन्त्रीमा नियुक्त गरिएको थियो भने सात महिनामै पूर्ववर्ती ली शाङफुलाई अचानक पदबाट हटाइएको थियो ।

लीलाई पछि घूस खोरीलगायत अपराधमा कम्युनिस्ट पार्टीबाट निष्कासित गरिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । त्यसयता उनी सार्वजनिक रुपमा देखिएको छैनन् ।

उनका पूर्ववर्ती वेई फेङहेलाई पनि पार्टीबाट निस्काशित गरी भ्रष्टाचारको आरोपमा अभियोजकहरूलाई हस्तान्तरण गरिएको थियो ।

चीनको परम्परागत र आणविक क्षेप्यास्त्रको विशाल भण्डारको रेखदेख गर्ने चीनको गोप्य रकेट फोर्सको विशेष गरी गहन अनुसन्धान भइरहेको छ ।

गत जुलाईमा रकेट फोर्सका एक उच्च चिनियाँ अधिकारी सन जिनमिङलाई पार्टीबाट निकालियो र भ्रष्टाचारको आरोपमा अनुसन्धानको दायरामा ल्याइयो ।

चिनियाँ सेनाको अपेक्षाकृत नयाँ एकाइ रकेट फोर्ससँग सम्बन्धित कम्तीमा दुई अन्य उच्च पदस्थ अधिकारीहरूलाई पनि भ्रष्टाचारको आरोपमा हटाइएको छ।