१५ मङ्सिर, जनकपुर । मैथिली विकास कोष जनकपुरधाम र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँबीच आज नौबुँदे समझौता भएको छ ।
मधेशको चित्रकला, मूर्तिकला, हस्तकला, लोककला, शिल्पकला, वास्तुकला र अन्य सृजनात्मक बहुआयामिक कला समेटेर मधेश प्रदेशको विभिन्न जिल्लामा ती कला विद्याको प्रवर्द्धन, संवर्द्धन तथा विकासका लागि दुवै पक्षबीच नौबुँदे सम्झौतामा हस्ताक्षर भएको छ ।
प्रतिष्ठान र कोषबीच ललितकलाका विद्याहरूको खोज, अध्ययन, अनुसन्धान, कार्यशाला, प्रशिक्षण, प्रदर्शनी, तालिम तथा गोष्ठी गर्नाका साथै प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा हुने ललितकला प्रदर्शनीहरूमा सहकार्य गर्ने समझौता भएको कोषका अध्यक्ष जीवनाथ चौधरीले बताए ।
सहकार्यका लागि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केली र कोषका तर्फबाट अध्यक्ष जीवनाथ चौधरीले हस्ताक्षर गरेको चौधरीले बताए ।