१६ मङ्सिर, सर्लाही । बागमती नगरपालिका–११ कर्मैयास्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्रमुखविहीन भएपछि यहाँका उपभोक्ता मारमा परेका छन् ।
सर्लाही र रौतहट कार्यक्षेत्र रहेको उक्त कार्यालयका प्रमुख जयप्रकाश साह अनिवार्य अवकाशमा गएपछि कार्यालयले नयाँ कार्यालय प्रमुख नपाउँदा उपभोक्ता मारमा परेका हुन् । उक्त कार्यालयले दुई जिल्लाका उत्तरी चुरे क्षेत्र तथा सिँचाइ सुविधा नपुगेका स्थानका किसानका लागि सिँचाइ विकासको योजना सञ्चालन गर्दै आएको थियो । तर, कार्यालय प्रमुख नहुँदा आफूहरू मारमा परेको हरिवन नगरपालिका–७ स्थित मनोकामना जल उपभोक्ता समितिका अध्यक्ष अशोक साहले गुनासो गरे ।
“अघिल्लो आर्थिक वर्षमा नै सिँचाइ गर्न डिपबोरिङको काम गरेका थियौँ”, उनले भने, “योजना सम्पन्न भइसक्यो, किसानले पैसा उठाएर राखेको धरौटी छ महिना बितिसक्दा पनि फिर्ता भएको छैन । गाउँका उपभोक्ता मारमा छन् ।”
रौतहटको यमुनामाई नगरपालिकास्थित सरुअठा जल उपभोक्ता समूहका अध्यक्ष आशुतोष यादवको पनि समस्या उस्तै छ । “गत आर्थिक वर्षमा काम गर्न समूहले जम्मा गरेको पैसा अझै फिर्ता भएको छैन”, उनले भने, “चालू आवमा पनि सिँचाइको काम गर्न पाए खेतीबाली गर्न पाइने आश छ । तर, कार्यालय प्रमुख नहुँदा यहाँ न पुरानो योजनाका काम हुन्छन्, न नयाँ नै ।”
उक्त कार्यालयले किसानलाई भूमिगत पानीलाई डिपबोरिङ, पावर ड्रिल र स्यालो ट्युबवेलबाट पानी निकालेर सिँचाइ सुविधा प्रदान गर्दै आएको छ । हालसम्म भूमिगत सिँचाइ योजनाबाट सर्लाही र रौतहटमा गरी तीन हजार पाँच सय बिघा खेतमा सिँचाइ सुविधा पुगिसकेको कार्यालयले जनाएको छ ।
कार्यालयले प्रत्येक वर्ष नयाँ जडान, वितरण प्रणाली विस्तार तथा मर्मतसम्भारका लागि योजना ल्याउने गरेको छ । यस वर्ष पनि एक सय ४६ वटा योजना तोकिएर आएको कार्यालयका निमित्त प्रमुख तिर्हराज खरेलले बताए । गत वर्ष रु २६ करोड ८० लाखबराबरको एक सय ६३ वटा डिपबोरिङ, पावर ड्रिल र स्यालो ट्युबवेल जडान, वितरण प्रणाली विकास तथा मर्मतसम्भारको योजना सम्पन्न गरेको थियो ।
कार्यालय प्रमुख सेवानिवृत्त भएको जानकारी सम्बन्धिन निकायलाई भएकाले यथाशक्य चाँडो नयाँ कार्यालय प्रमुख आउनेमा आफू विश्वस्त रहेको उनले बताए ।