समाचार

विदेश जाने क्रमलाई घटाउँदै युवालाई उद्यमशीलतासँग जोड्न आवश्यक छ : मुख्यमन्त्री पाण्डे

१८ पुस, कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले युवालाई उद्यमशीलतामा जोड्दै विदेश जाने क्रमलाई घटाउँदै लानुपर्ने बताएका छन् ।

स्थानीय कृषि तथा औद्योगिक उत्पादनको प्रबद्र्धन गर्ने उद्देश्यले लेखनाथ उद्योग वाणिज्य सङ्घद्वारा २०औँ संस्करणको लेखनाथ महोत्सव २०८१ को आज लेखनाथको डाँडानाकमा उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले युवा जनशक्तिलाई नेपालभित्र नै अवसर सृजना गर्न जरुरी भएको बताएका हुन्।

उत्पादनशील र रोजगारी दिने खालका उद्योग तथा व्यवसाय सञ्चालन गरी युवा जनशक्तिलाई नेपालमा नै अवसर सृजना गर्न जरुरी भएको बताए । गण्डकी प्रदेश सरकारले आफ्नो पञ्चवर्षीय योजनामा निजी र सार्वजनिक संस्थालाई साझेदारी रुपमा अगाडि बढाउने खालका कार्यक्रम ल्याइने उनले जानकारी दिए ।

पोखराका तालहरुलाई व्यवस्थित गरी पर्यटकलाई आकर्षण गर्दै समृद्धिको बाटोतर्फ अगाडि बढ्न आवश्यक भएको बताउँदै उनले पोखराको अन्तर्राष्टिय विमानस्थल सफल रुपमा सञ्चालन गर्न विभिन्न देश तथा संस्थाहरुसँग प्रदेश सरकारले पहल गरिरहेको र पोखरा–मुग्लिङ सडकको छिट्टै स्तरोन्नति हुने उल्लेख गरे ।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले स्थानीय उत्पादनलाई बजारीकरण एवं प्रवद्र्धन गर्न यस्ता महोत्सव फलदायी हुने बताउँदै महोत्सवको पनि महोत्सवका रुपमा चिनिने यस महोत्सवलाई थप व्यवस्थित बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

पोखरा महानगरपाकिलाका प्रमुख धनराज आचार्यले २० वर्षअघि सुन्तला महोत्सवबाट सुरु भएको लेखनाथ महोत्सवले छोटो समयमा आफूलाई स्थापित गर्दै करोडौँ रुपैयाँको कारोबार गर्दै आएको बताए । यही पुस १८ गतेदेखि माघ १ गतेसम्म सञ्चालनमा हुने महोत्सवले यस क्षेत्रको अर्थतन्त्रलाई चलायमान र आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धन गर्न सहयोग पुग्ने भनाइ उनको छ ।