ब्रेकिङ न्युज

कांग्रेसभित्र नयाँ तरंग – पूर्ण खड्काले लगाए गगन, विश्वप्रकाश माथि गम्भीर आरोप

२४ असार, काठमाडौं ।  नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीभित्र देखिएको असन्तुष्टि र विवादको जिम्मेवारी आफूहरूमा नभई सभापति गगन थापाको नेतृत्वमा रहेको समूहमा रहेको बताएका छन्।

बुधबार चुनदेवीमा आयोजित संस्थापन इतर समूहको बैठकमा बोल्दै उनले पार्टी विभाजन आफू वा आफ्नो समूहका कारण नहुने दाबी गर्दै, सभापतिले चाहे मात्रै यस्तो अवस्था आउने बताए। विगतमा पनि तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको निर्णयकै कारण पार्टी फुटेको उदाहरण उनले स्मरण गरे।

खड्काले कांग्रेसभित्रको एकता कायम राख्ने जिम्मेवारी अहिले सभापति गगन थापाकै काँधमा रहेको उल्लेख गर्दै, उहाँले चाहेको खण्डमा मात्रै पार्टीलाई एउटै धारमा अघि बढाउन सकिने बताए। युवा नेताहरूलाई नेतृत्व लिन आफू पहिलेदेखि नै तयार रहेको र आफूलाई कुनै पदको लोभ नरहेको पनि उनले दोहोर्‍याए।

सदस्यता अद्यावधिक प्रक्रियामाथि पनि उनले प्रश्न उठाए। कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर सदस्यको सहमतिबिनै अद्यावधिक गरिएको दाबी गर्दै चार लाखभन्दा बढी सदस्य यसरी अद्यावधिक गरिएको आरोप लगाए।

नेता खड्काले डा. शेखर कोइरालासँग पछिल्लो समय गम्भीर छलफल भएको जानकारी दिँदै त्यसबारे अहिले सार्वजनिक रूपमा बोल्न उचित नहुने बताए। साथै आफूहरूसँग कुनै संगठित शक्ति नरहेको भन्दै सम्पर्क कार्यालय सञ्चालनका लागि नेताहरूबाट आर्थिक सहयोग संकलन गरिने जानकारी पनि दिए।

राष्ट्रिय भेला कहिले गर्ने भन्ने विषयमा थप छलफलपछि मात्रै अन्तिम निर्णय गरिने उनले स्पष्ट पारे। कांग्रेस अहिलेको अवस्थासम्म पुग्ला भन्ने आफूले कहिल्यै नसोचेको उल्लेख गर्दै गगन थापा र विश्वप्रकाश शर्माले यस्तो परिस्थिति सिर्जना गर्ने संकेत आफूलाई नदिएको पनि खड्काले बताए।