समाचार

सद्भाव कायम भएमा सामाजिक एकता बलियो : प्रदेश प्रमुख खापुङ

१९ पुस, भोजपुर । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले सबै समुदायबीच सद्भाव कायम राख्न जरूरी रहेको बताएका छन् ।

जिल्ला समन्वय समितिको आठौँ जिल्ला सभालाई आज सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले सद्भाव र एकता कायम राख्दै मुलुकलाई अगाडि बढाउन स्थानीय तहहरूको पनि प्रमुख भूमिका हुने बताए । उनले सङ्घीयता, गणतन्त्र, लोकतन्त्रको सुदृढीकरणसहित संस्थागत बनाउन जनप्रतिनिधिहरूलाई आग्रह गरे ।

भाषा, धर्म, संस्कार, संस्कृतिमा सबैको समान अवसर कायम राख्दै एकताबद्ध रूपमा आआफ्नो ठाउँबाट योगदान गर्नुपर्ने उनको धारणा छ ।

सो क्रममा कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका राज्यमन्त्री सृजना राईले सङ्घीय, प्रदेश र स्थानीय सरकारका बीचमा समन्वय अभाव हुँदा योजनाहरू दोहोरिने समस्या देखिएको बताए।

पूर्वसंविधानसभा सदस्य लक्ष्मी परियार, जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राई, भोजपुरका स्थानीय तहका प्रमुख तथा उपप्रमुख, समन्वय समितिका पदाधिकारी, कर्मचारी, पत्रकारलगायतको जिल्ला सभामा सहभागिता रहेको थियो ।