२६ पुस, काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एमाले निकट पर्यटन व्यवसायीहरूको छाता संस्था नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनको चौथौ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन पर्यटन क्षेत्रको ठूलो भूमिका रहेको बताए ।
अर्थमन्त्री पौडेलले पर्यटन क्षेत्रमा देखिएका समस्या दीर्घकालीन रूपमा समाधान गर्दै अगाडि बढ्ने बताए । “पर्यटन व्यवसाय मुलुकको अर्थतन्त्रको विकासका लागि महत्त्वपूर्ण खम्बाको रूपमा रहेको छ, यस क्षेत्रमा देखिएका समस्याको दिर्घकालीन रूपमा समाधान गर्न सरकार प्रतिबद्ध छ”, उनले भने ।
वर्तमान सरकार गठन भएपछि पर्यटन क्षेत्रका समस्या बुझ्ने र समाधान गर्ने प्रयासहरू सुरू भइसकेको उल्लेख गरे । मुलुकको समृद्धिका लागि पर्यटन क्षेत्रको विकास हुनुपर्ने उनको भनाइ छ । मन्त्री पौडेलले नेपालमा पर्यटनको सम्भावना भएका क्षेत्रको अधिकतम उपयोग गर्दै यसलाई अन्तर्राष्ट्रियकरण गर्न सके धेरैभन्दा धेरै पर्यटकहरू भित्रिने बताए ।