२१ माघ, काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान विश्व सम्पदा सूचिमा रहेको ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोकमा वसन्त श्रवण गरेका छन्। सो अवसरमा राष्ट्रपति पौडेलले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहणसमेत गरे। नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएको बिहान ७ बजेर ५५ मिनेटको शुभ साइतमा उनले वसन्त श्रवण गरेका हुन्।
वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुखको रूपमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने चलन रहिआएको छ । वसन्त श्रवण श्रीमद्भागवत महापुराणको कथामा आधारित भएको मानिन्छ ।
राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरिएको थियो। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए। सोही अवसरमा सरकारका उच्च अधिकृतकासाथै सुरक्षाअङ्गको प्रमुखहरू सहभागी थिए।
आज वसन्त पञ्चमीका दिन देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्ने गरिन्छ ।
–––