२१ माघ, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथि चितवन जिल्ला अदालतमा आज मुद्दा दर्ता हुने भएको छ। उनी सहित १४ जनाविरुद्ध साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगीमा मुद्दा दर्ता हुन लागेको हो।
लामिछानेसहित १४ जना र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगमा मुद्दा दर्ता गर्ने तयारी भएको हो।
चितवन जिल्ला सरकारी वकिल कार्यालयले यसअघि तथ्य-तथ्याङ्क नमिलेको भन्दै फाइल फर्काएपछि पुनः प्रक्रिया मिलाएर एक साता अगाडि मात्रै प्रहरीले फाइल पठाएको थियो। प्रहरीले पठाएको अनुसन्धान प्रतिवेदन र तिनका प्रमाणहरूको आधारलाई लिएर सरकारी वकिल कार्यालयले आज उनीहरुविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो । लामिछानेलाई मुद्दा दर्ता भएपछि चितवन झिकाइने छ ।
प्रहरीको अनुसन्धानमा ३८ करोड ९ लाख ७९ हजार रुपैयाँ हिनामिना भएको उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।