२२ माघ, काठमाडौँ । बेलायतका राजकुमार एड वार्ड आज श्रीमतीसहित नेपाल भ्रमणमा आउने भएका छन् । एड वार्ड श्रीमती सोफियासहित साढे १० बजे नेपाल भ्रमणमा आउन लागेका हुन् ।
नेपालमा निजी भ्रमणमा आउन लागेका उनीहरू दुवै जना छुट्टाछुटै विमानमार्फत नेपाल भ्रमणमा आउन लागेका हुन्। राजकुमार एडवार्ड बिहान साढे १० बजे र उनकी श्रीमती सोफिया दिउँसो करिब २ बजे भारत हुँदै नेपाल आउने बताइएको छ। नेपाल आएपश्चात् दुवै जना सिधै लैनचौरस्थित बेलायती राजदुतावास जानेछन् ।
राजकुमार परिवार ६ दिने दक्षिण एसियाली मुलुक भ्रमणमा निस्किएका हुन्। नेपाल भ्रमणमा रहँदा उनीहरूको सुरक्षा प्रबन्ध नेपाली सेनाले गर्ने छ।
भ्रमणका क्रममा उनीहरूले पोखराको ब्रिटिस गोर्खा क्याम्पमा पनि जाने छन् साथै नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण हिमशृङ्खला अवलोकन गर्न जाने तालिका समेत रहेको बताइएको छ।