२२ माघ, काठमाडौँ । बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौँ ओर्लिएकी छन् । उनलाई त्रिभुवन विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरूले स्वागत गरेका थिए ।
उनी एयरपोर्टबाट सिधै लैनचौरस्थित बेलायती दूतावास गएकी छन् । राजकुमार एडवार्ड भने केही समयपछि काठमाडौँमा अवतरण गर्ने छन्। राजकुमार दम्पतीले दिउँसो पौने ४ बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने बताइएको छ।
६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ गते स्वदेश फिर्ता हुने बताइएको छ। नेपाल भ्रमणमा रहँदा उनीहरूको सुरक्षा प्रबन्ध नेपाली सेनाले गर्ने छ।
भ्रमणका क्रममा उनीहरूले पोखराको ब्रिटिस गोर्खा क्याम्पमा पनि जाने छन् साथै नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण हिमशृङ्खला अवलोकन गर्न जाने तालिका समेत रहेको बताइएको छ।