अपराध

सहकारी ठगी प्रकरण: रवि सहित १५ जना विरुद्ध चितवनमा मुद्दा दर्ता 

२२ माघ, चितवन । सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहित १४ जना विरुद्ध चितवनमा मुद्दा दर्ता भएको छ। चितवनको सहारा चितवन सहकारीको रकम अपचलन र ठगी गरेको अभियोगमा आज जिल्ला सरकारी वकिलको कार्यालय चितवनले लामिछानेविरुद्ध मुद्दा दायर गरेको हो।

सरकारी वकिल कार्यालयले लामिछानेसहित थप १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता गरेको हो । अन्य प्रतिवादीहरुमा छविलाल जोशी , रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफअलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणी बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठ रहेका छन् । 

त्यस्तै साहारा साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हव इन्टरनेशनल प्रालि, जिवी ग्रुप अफ कम्पनी, स्प्रिङ उड स्टेट हाउजिङ प्रालि, नेचर नेष्ट प्रालिलाई पनि प्रतिवादी बनाइएको छ ।

प्रहरीले अदालतमा मुद्दा दायर गर्न रायसहितको अनुसन्धान प्रतिवेदन केही दिन अघि बुझाइसकेको थियो। प्रहरीले दिएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्र तयार पारेको थियो। उक्त सहकारीबाट ३८ करोडभन्दा बढी रकम ठगी गरेको बताइएको छ।