२२ माघ, चितवन । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चितवनमा सहकारी ठगी मुद्दा मात्रै दायर भएको छ । उनलाई ठगीमा मुद्दा दर्ता गरिएसँगै जिबी राई सहित अन्य १२ जनालाई सङ्गठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको हो।
सङ्गठित अपराध र ठगी दुवैमा मुद्दा दायर भएकाहरूमा राई, सागर केसी, हेमन्त अधिकारी, आशिष राना मगर, अनन्तबाबु राई, भूपेन्द्र राई, देवेन्द्र राई, दिनेश रोका, कुमार रम्तेल, छविलाल जोशी, दिपक लामा र नेत्रप्रसाद बाँस्तोला समेत गरी १२ जना छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय, चितवनका अनुसार पोखरा र बुटवलबाट लामिछाने आफैँले ऋण लगेको देखिएकाले ठगी र सङ्गठित अपराधमा मुद्दा दर्ता भएको तर, चितवनमा आफैँले लगेको नदेखिएकाले ठगीमा मात्र मुद्दा चलाइएको हो। सहकारीको रकम गएका मध्ये एकभन्दा बढी कम्पनीका सञ्चालकहरूलाई पनि सङ्गठित अपराधमा मुद्दा दर्ता भएको छ।
लामिछानेसहित रामबहादुर खनाल, रविना रिमाल, विशाल तामाङ, नविन अछामी, कविता तामाङ, असरफ अली सिद्धिकीविरुद्ध ठगीमा मात्र मुद्दा दायर गरेको छ । मुलुकी अपराध संहिताको दफा २४९ मा रहेको ठगीको दफा १ र २ मा कसैलाई बेइमानीपूर्वक कुनै किसिमको हानी, नोक्सानी पुर्याए ठगी गरेको मानिने भनिएको छ ।