२३ माघ, चितवन । रास्वपा सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई ठगी मुद्दा दर्ता गर्ने चितवन जिल्लाका प्रमुख एवम् न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलको सरुवा भएको छ। उनलाई लामिछानेको मुद्दा दर्ता भएको केही घण्टामै चितवनबाट सरुवा गरेर महान्यायाधिवक्ता कार्यालय काठमाडौँमा तानिएको हो ।
लामिछानेविरुद्ध सरकारी वकिलको कार्यालय चितवनले जिल्ला अदालतमा ठगी कसुरमा मात्र मुद्दा दायर गरेको दिन लुइँटेललाई काठमाडौँ तानिएको हो। दिउँसो रविविरुद्ध मुद्दा दर्ता भएको थियो बेलुका करिब सात बजेतिर लुइँटेलले काज सरुवाको पत्र पाएका थिए। सामान्यतया दुई वर्षमा सरुवा गर्ने गरिए पनि लुइँटेलको डेढ वर्ष नपुग्दै काज सरुवा गरिएको बताइएको छ।
सरकारी वकिल कार्यालयले सहकारीको रकम गोर्खा मिडियामा लैजान लामिछानेको संलग्नता नदेखिएको भन्दै सङ्गठित अपराधको मुद्दा नचलाउने निर्णय गरेको थियो। सो निर्णय गर्नेमा चितवन जिल्लाका प्रमुख एवम् न्यायाधिवक्ताको हैसियतले लुइँटेल स्वयम् थिए।
सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा सोमबार जिल्ला सरकारी वकिल कार्यालय चितवनले ३२ जना व्यक्ति र ६ वटा संस्था विरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरेको थियो ।