समाचार

बयान दिन लामिछाने चितवन जिल्ला अदालतमा

२३ माघ, चितवन । रास्वपा सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । उनी बयानका लागि अदालत उपस्थित भएका हुन्।

लामिछानेविरुद्ध हिजो सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना गरेको भन्दै चितवन जिल्ला अदालतमा ठगी कसुरमा मुद्दा दर्ता भएको थियो। 

जिल्ला अदालत चितवनका अनुसार अब लामिछानेको बयान सुरु हुने छ, बयानको समय कति लाग्छ यसैभन्न सकिने अवस्था छैन। बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ। थुनछेक बहस सकिएपछि न्यायाधीशले लामिछानेलाई साधारण तारेखमा वा धरौटीमा छाड्ने अथवा थुनामा पठाउने भन्ने निर्णय गर्ने छन्।

चितवनमा लामिछानेलाई ठगी मुद्दा मात्रै दर्ता भएको छ। अन्य जिल्लाहरूमा भने सङ्गठित अपराधको कसुरमा पनि मुद्दा दायर भएको थियो ।