२३ माघ, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जाल नेपालमा दर्ताका नगरे प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । आज काठमाडौँमा नेपाल टेलिकमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा दर्ता नभएका कुनै पनि सामाजिक सञ्जाल चल्न नदिने बताएका हुन् ।
उनले नेपालबाट दर्ताको लागी मेटालाई बोलाइरहेको बताउँदै आउँछ, की आउँदैन, हेर्न बाँकी रहेको जानकारी दिए। यदि दर्ताको लागी नआए नेपालमा चल्न नदिने उनको भनाइ छ। नेपालमा अहिले दर्ता भएर, प्वाइन्ट अफ कन्टयाक्ट तोकेर बसेको टिकटक मात्रै रहेको मन्त्री गुरुङले बताए ।
सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई कारबाही गर्नकै लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको सञ्चारमन्त्री गुरुङको दाबी थियो। मनपरी लेख्ने, मनपरी गर्ने कुरा लोकतन्त्र नभएको भन्दै त्यसकै नियमनका लागि संसद्मा सामाजिक सञ्जाल सञ्चालन र नियमन गर्ने विधेयक पेस गरिएको उनको भनाइ थियो।