समाचार

लामिछानेको बहस सकियो, आजै थुनछेक बहस हुने

२३, माघ, चितवन । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ। आज चितवन जिल्ला अदालतमा हाजिर भएका लामिछानेको बयान सकिए सँगै थुनछेक बहस सुरु गर्ने तयारी भएको हो। 

चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम ठगी गरेको अभियोगमा लामिछाने विरुद्ध हिजो ठगी सम्बन्धी मुद्दा दायर भएको थियो। चितवन जिल्ला अदालत हाजिर भएका लामिछानेको बिहान पौने १२ बजेदेखि सुरु भएको बयान ४ घण्टासम्म चलेको थियो ।

चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलास नं. २ मा लामिछानेको बयान चलेको थियो भने आजै सुरु हुने थुनछेक बहसका लागि लामिछानेको तर्फबाट बहस गर्ने अधिवक्ताहरूले आफ्नो नाम दर्ता गराएका छन् ।  सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपानेसहित सरकारी वकिलहरू बुद्धबहादुर थापा, अमृत सुवेदीले बहस गर्नेछन् ।

यता, वरिष्ठ अधिवक्ता सुशील कुमार पन्त, अधिवक्ता सुवर्ण सापकोटा,नारायणदत्त कँडेल, चूडामणि सापकोटा, रामचन्द्र देवकोटा, सञ्जय गोलेले लामिछानेको पक्षबाट बहस गर्ने छन् ।

सहकारी पीडितको तर्फबाट भने अधिवक्ताहरू राजकुमार श्रेष्ठ, रमेश काफ्ले, सुनिता अधिकारी र शम्भु बर्तौलाले बहस गर्नेछन् ।