समाचार

विपिनको रिहाइबारे परराष्ट्रमन्त्री राणा र इरानका विदेशमन्त्रीबिच फोनवार्ता

२५ माघ, काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग टेलिफोन वार्ता गरेकी छन्। बिहीबार राति मन्त्री राणाले विपिन जोशीको रिहाइबारे इरानका विदेशमन्त्रीसँग टेलिफोन वार्ता गरेकी हुन्।

फोनवार्ताका क्रममा इरानका विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरूसँग अब हुने बैठकमा आफूले विपिन रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएको परराष्ट्रमन्त्री राणाको सचिवालयले जनाएको छ।

इजरायल सरकार र हमासबीच युद्धविराम भएपछि आफ्ना नियन्त्रणमा रहेका बन्दीहरूलाई हमासले मुक्त गर्न थालेका छन् । इसराइल र हमासबीच माघ ६ गते ४२ दिनका लागि युद्धविराम भएको थियो।

यसबीचमा १८ जना बन्धकलाई हमासले छाडिसकेको छ। हमासले इजरायलबाहेक अन्य मुलुकका बन्धकहरू पनि छाडेको छ तर हालसम्मको रिहाइ सूचीमा जोशीको नाम सार्वजनिक भएको छैन ।

मन्त्री डा: राणाले इजरायल, इजिप्ट, कतारलगायतका विदेशमन्त्री तथा प्रतिनिधिसँग यसै विषयमा फोनवार्ता गरेकी थिइन् ।