२५ माघ, काठमाडौँ। दलित अधिकारकर्मीले गृहमन्त्री रमेश लेखकलाई कारबाहीको माग गर्दै नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गरेका छन् ।दलित अधिकारकर्मी खगेन्द्र सुनारको नेतृत्वमा केन्द्रीय कार्यालय, सानेपा पुगेको टोलीले केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुलीलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र कुमार राम (चमार) र नेहा रौनियारको विषयमा गृहमन्त्रीकै निर्देशनमा उनीहरूलाई पक्राउ पुर्जी जारी पक्राउ गरेर यातना दिएको भन्दै उनीहरूले कारबाही हुनुपर्ने बताएका हुन्।
उनीहरूले ‘दलित हिंसा गर्ने गृहमन्त्रीलाई कारबाही गर, जातीय हिंसामा संलग्न गृहमन्त्रीलाई बर्खास्त गर’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका छन्।

सत्यन्द्र कुमार राम (चमार) र नेहा रौनियारको विषयमा हिजोको संसद् बैठकमा चर्को विरोध भएको थियो। आज बसेको संसद् बैठकमा पनि धेरै सांसदहरूले गृहमन्त्री लेखक र नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरमाथि छानबिन गर्नुपर्ने माग गरेका छन्।