समाचार

अधिवक्ता त्रिपाठीलाई कुटपिटको अभियोग लागेका रास्वपा जिल्ला उपसभापति जेल चलान, २ जना रिहा 

२५ माघ, काठमाडौँ । अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका तीन जनालाई धरौटीमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले पक्राउ परेका तीनै जनालाई जनही एक/एक लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतको आदेशपछि दोलखाको तामाकोसी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसी र झापाको बुद्ध शान्ति गाउँपालिका–४ घर भएकी ५५ वर्षीया शीतल राई भनिने सीतादेवी राई धरौटी बुझाएर रिहा भएकी छन् ।

अर्का प्रतिवादी हुम्लाको अदानचुली गाउँपालिका–४ घर भएका ३२ वर्षीय महानन्द जैसी भने धरौटी बुझाउन नसकेपछि कारागार चलान भएको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ। 

धरौटी बुझाउन नसकेका प्रतिवादी जैसी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाको उपसभापति हुन् । जैसीले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुनै किसिमको आक्रमण आफूले नगरेको दाबी गर्दै आएका छन्।