समाचार

प्रधानमन्त्रीले बोलाए उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक 

२७ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन्। अध्यादेशमा देखिएको गतिरोधको बारेमा छलफल गर्न सत्तारुढ दलको राजनीतिक संयन्त्रको बैठक बोलाएका हुन्। 

बैठक आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने छ। बैठकमा सरकारले हालै जारी गरेका ६ वटा अध्यादेशमा देखिएको गतिरोध लगायत विषयमा छलफल हुने भनिएको छ।  

काँग्रेस एमाले गठबन्धन सरकार बनेपछि गत कात्तिक १५ गते ८ सदस्यीय राजनीतिक संयन्त्र बनाइएको थियो। प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकारका कामलाई सफल बनाउन भन्दै उच्चस्तरीय राजनीतिक संयन्त्र बनेको हो। 

सरकारले यही माघ २४ गते प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनमा अध्यादेश निर्णयार्थ पेस गर्ने तयारी गरेपनि पारित नहुने भएपछि केही समय पछि हटेको  थियो।  प्रतिनिधि सभामा बहुमत पुगे पनि राष्ट्रियसभामा भने उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल निर्णायक बन्दा दुवै सदनको सूचीबाट अध्यादेशलाई हटाइएको हो।   

सरकारले माघ १८ गते दुवै सदनमा ६ वटा अध्यादेश पेस गरेको थियो। आज बस्ने दुवै सदनको कार्यसूचीमा अध्यादेश समावेश गरिएको छैन।