२७ माघ, काठमाडौँ । नेकपा एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले सरकारले संसद् बैठकमा पेस गरेको अध्यादेश अझै तीन दिन निर्णयार्थ पेस नहुने बताएका छन्। सहमतिको प्रयास भइरहेकोले अझै तीन दिनको संसद् बैठकमा पेस नहुने बताएका हुन्।
उनका अनुसार सहमतिको प्रयास जारी भएकाले अझै ती वटा संसद् बैठकमा अध्यादेश निर्णयार्थ पेस नहुने भएको हो। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी,नेपालले अध्यादेशबारे निर्णय नगर्दा सभामुखले अध्यादेशलाई निर्णयार्थ पेस नगरेका हुन्।
प्रतिनिधिसभामा भने सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेको स्पष्ट बहुमत छ। राष्ट्रियसभामा भने यादव नेतृत्वको जनता समाजवादी पार्टी,नेपाल निर्णायक देखिएको छ।
सरकारले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ अध्यादेश संसद्मा पेस गरेको छ।




