२८ माघ,काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सुशासनको अवस्था सुधार गर्न सरकारले नै पहल गर्नुपर्ने बताएका छन्। आज आयोगको ३४औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले सुशासनका लागि सार्वजनिक सेवा प्रवाहलाई सुधार गर्नुपर्ने धारणा राखेका हुन्।
योजनाबिनै खरिद, सेवा प्रवाहमा बिचौलियाको प्रभावलगायत विषयलाई सुधार गर्नुपर्नेमा उनको जोड थियो । खरिद व्यवस्थापनलाई थप प्रभावकारी बनाई राज्यलाई थप क्षति हुनबाट रोक्नुपर्ने पनि बताए। राईले नागरिकलाई सहज र सरल सार्वजनिक सेवा दिन थप सुधारका पहल गर्न पर्ने राय दिएका थिए।
अन्तर्राष्ट्रिय कानुनअनुसार नेपालका कानुन र संयन्त्र परिमार्जन गर्नुपर्ने बताउँदै तीनवटै तहका सरकारबाट पहल भए मात्र सुशासन स्थापित हुने प्रमुख आयुक्त राईको भनाइ थियो।




