समाचार

प्रहरी कुट्ने एमाले अखिलका दुईजना विरुद्ध पाँच दिनको म्याद थप

२८ माघ, काठमाडौँ । ठमेलमा ड्युटी खटिएको प्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका गर्ने एमाले अखिलका दुईजना विद्यार्थी विरुद्ध पाँच दिनको म्याद थप भएको छ । आइतबार मात्रै ताप्लेजुङको फुङलिङ नगरपालिका-१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेलधुराको गन्यापधुरा गाउँपालिका-५ का २२ वर्षीय रमेश फुलारा पक्राउ परेका थिए ।

पक्राउ परेका दुई युवाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अभद्र व्यवहारको कसुरमा पाँच दिनको म्याद थप भएको  जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको हो। उनीहरू दुवैजना अमृत साइन्स क्याम्पस (अस्कल)मा अध्ययनरत एमालेको विद्यार्थी सङ्गठनमा आबद्ध रहेका छन् ।

उनीहरूको समूहले दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीम (क्यूआरटी) को टोलीमाथि आक्रमण गरेको थियो । आक्रमणबाट दुई प्रहरी घाइते भएका थिए । उनीहरूले प्रहरीको मोटरसाइकल लडाउँदै कुटपिट गरेका थिए।