समाचार

धनगढीमा ड्युटीका प्रहरीमाथि चक्कु प्रहारको प्रयास

३० माघ, काठमाडौँ । कैलालीको धनगढीमा प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको छ। ट्राफिक चौराहामा ड्युटीमा रहेका प्रहरीमाथि एक युवाले होहल्ला गर्दै चक्कु प्रहार गर्ने प्रयास गरेका हुन्।

गए राति हातमा चक्कु लिएर ‘हरहर महादेव’ भन्दै सडकमा होहल्ला गर्दै हिँडिरहेका युवकले प्रहरीमाथि चक्कु प्रहार गर्न खोजेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।  भिडियोमा प्रहरी र स्थानीयले नियन्त्रण गर्न खोजे पनि नसकेको देखिन्छ।

आक्रमणमा उत्रिएका युवक धनगढी उपमहानगरपालिका-१४ का वर्ष ३६ का टेकबहादुर टमाटा रहेका छन्। 

प्रहरीले नियन्त्रणमा लिन टमाटालाई पछाडिबाट लाठी प्रहार गरेको त ती युवाले प्रहरीलाई लखेटेर आक्रमण गरेको भिडियोमा देख्न सकिन्छ ।  

टमाटालाई प्रहरीले पक्राउ गरिसकेको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार उनको मानसिक सन्तुलन ठिक नभएको र मङ्गलवार राति नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।