समाचार

अमेरिकाबाट १ महिला र १९ पुरुष गरी २०अवैध आप्रवासी  नेपाली डिपोर्ट 

३० माघ, काठमाडौँ । अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेको २३ दिनको अवधिमा २० नेपालीलाई डिपोर्ट गरिएको छ । २० जनवरी देखि फेब्रुअरी ११ को बिचमा १ महिला र १९ पुरुष गरी जम्मा २० जना नेपालीहरूलाई डिपोर्ट गरिएको अध्यागमन कार्यालयको तथ्याङ्कमा देखिएको हो। 

ट्रम्पले दोस्रो कार्यकालको लागी सत्ता सम्हालेकै दिनबाट अवैध आप्रवासीहरूलाई स्वदेश फर्काउने अभियान सुरु गरेका थिए । उनले पहिलो कार्यकालमै यस अभियानलाई कार्यान्वयन गर्न चाहे पनि सकिरहेका थिएनन्।

अमेरिकाको अध्यागमन कार्यालयका अनुसार १ हजार ३६५ जना नेपालीहरू अवैध रूपमा अमेरिकामा बस्दै आएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अनुसार २० जना नेपालीहरूलाई अमेरिकाले स्वदेश फर्काइसकेको छ । उनीहरूलाई अमेरिकामा ‘विना भिसा’ यात्रा गरेको र ‘गलत नियत’का साथ बसोबास गरेकाले फर्काइएको बताइएको छ। 

राष्ट्रपति ट्रम्पले आप्रवासीहरूमाथि कडाइ गर्ने नीति लिए अनुसार अमेरिकाले १४ लाख आप्रवासीलाई देश निकाला गर्ने छ । अहिले विभिन्न देशका नागरिकहरूलाई विमान नै चढाएर स्वदेश फर्काइरहेको छ । भारत, मेक्सिको लगायत देशका नागरिकहरूलाई हतकडीसमेत लगाएर फर्काइएका भिडियो सार्वजनिक भएका छन्।