समाचार

पन्युँले चार कक्षामा पढ्ने विद्यार्थीको गाला डाम्ने शिक्षिका पक्राउ

१ फागुन, काठमाडौँ । विद्यार्थीको गालामा पन्युँले डामेको आरोपमा तनहुँमा एक शिक्षिका पक्राउ परेकी छन्। भिमाद नगरपालिकाको भिमाद बजारमा रहेको प्रभात एकेडेमी की शिक्षिका ३४ वर्षीया सुष्मा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ परेकी शिक्षिकाले आफूलाई विद्यार्थीले काली भनेपछि आक्रोशित भएर पन्युँले  डामेको स्वीकार गरेकी छन्। उनलेआवेशमा आएर आफूले गल्ती गरेको स्वीकारेको प्रहरीको भनाइ छ । शिक्षिकाले विद्यार्थीहरूले कक्षाकोठामा हो हल्ला गरेपछि बुधवार कक्षा चारमा पढ्ने चारजना विद्यार्थीलाई पन्युँ तताएर गालामा डामेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको हो । 

प्रहरीका अनुसार कक्षा चारमा पढ्ने एक जना बालकको गालामा गहिरो घाउ भएको छ। अन्य तीनजना विद्यार्थीलाई पनि त्यसैगरी डामेको भएपनि उनीहरूलाई चाहिँ धेरै ठुलो चोट नलागेको प्रहरीले बताएको हो। 

कक्षाका ७ सम्म मात्रै पढाइ हुने उक्त स्कुलका प्रिन्सिपल उनकै बाबु कृष्ण श्रेष्ठ सञ्चालक रहेका छन्। विद्यार्थीलाई पन्युँले डाम्ने शिक्षिका सञ्चालक श्रेष्ठको छोरी हुन्। उनले स्कुलमा विद्यार्थी पढाउनेदेखि एकाउन्टको कामसमेत हेर्ने गरेको प्रहरीको भनाइ छ। 

घटनाको अभिभावक र स्थानीयले चर्को विरोध गरेका छन्। पक्राउ परेकी शिक्षिकालाई जिल्ला अदालत तनहुँबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान थालिएको छ।