खेलकुद

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा  

१ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५’ को लागी नेपाली महिला फुटबल टोलीको घोषणा भएको छ। एन्फाको आयोजनामा फागुन ५ गतेदेखि १४ गतेसम्म दशरथ रङ्गशालामा हुने प्रतियोगितामा एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा टोली घोषणा भएको हो। 

 सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली सार्वजनिक गरिएको हो जसमा दुई जना नयाँ खेलाडी समेटिएका छन्। मनमाया दमाई र सुष्मा तामाङ पहिलो पटक राष्ट्रिय टिममा छनोट भएका हुन्। 

राजेन्द्र तामाङ मुख्य प्रशिक्षक रहेको महिला टोलीमा गोलरक्षक एन्जिलासँगै, अन्जना राना मगर र उषा नाथ छन्। डिफेन्डरमा अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाई छन्। 

मिडफिल्डरको जिम्मेवारीमा अनिता बस्नेतसँगै, रेनुका नगरकोटी, प्रिती राई, सरु लिम्बू, सविता राना मगर, रेनुका हमाल र सुष्मा तामाङ छन्। 

फर्वाडमा सावित्रा भण्डारीसँगै रेखा पौडेल, रश्मिकुमारी घिसिङ, चन्द्रा भण्डारी र अनिता केसीलाई समेटिएको छ। एएफसी महिला एसिया कप र फिफा महिला विश्वकपको तयारीका लागि हुने प्रतियोगितामा चार टोली सहभागी हुनेछन्।

बिहीबार किर्गिस्तानको टोाली आइपुग्ने छ। शुक्रबार म्यानमार र लेवनानको टिम काठमाडौँ आइपुग्ने छन्।  उनीहरूलाई प्रशिक्षणका लागि एन्फा कम्प्लेक्सको मैदान र नेपाली सेनाको मुख्यालय भद्रकालीस्थित खेल मैदानमा व्यवस्था मिलाइएको छ।

खेलहरू दिउँसो २ बजे र साँझ ६ बजे सञ्चालन हुनेछन्। प्रतियोगिताका लागि साधारण पाराफिटतर्फ टिकट ५ सय रुपैयाँ र भीआईपीतर्फ एक हजार रुपैयाँ तोकिएको छ। टिकट खल्ती एपबाट किन्न सकिने एन्फाले जनाएको छ।