२ फागुन, काठमाडौँ । बालमन्दिर जग्गा प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगले पनि अनुसन्धान अघि बढाएको छ । नक्सालस्थित नेपाल बाल सङ्गठन (बालमन्दिर) को जग्गा विवादबारे अनुसन्धान सुरु भएको आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले विज्ञप्ति मार्फत जानकारी दिएका हुन्।
छानबिन तथा अनुसन्धान प्रक्रिया अघि बढेको विज्ञप्तिमा जनाइएको छ। बाल सङ्गठनले आफ्ना जग्गा सस्तोमा भाडामा दिएको र सम्झौता अवधि १७ वर्ष बाँकी छँदै पुनः थप ३८ वर्ष भाडामा दिने सम्झौता गरेको भन्दै सङ्गठनकै पूर्व पदाधिकारीविरुद्ध ठगी मुद्दामा जाहेरी परेको थियो। पूर्व अध्यक्ष रिता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी समेत जारी भएको बेला मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको हो।
सरकारी वकिल कार्यालय, काठमाडौँले सिंहमाथि मुद्दा नचलाउने भनी निर्णय गरेकोबारे आयोगले ध्यानाकर्षण भएको बताएको छ ।
विज्ञप्ति मार्फत आयोगले उच्च सरकारी वकिल कार्यालय पाटन र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई निर्णयको प्रतिलिपि तथा केन्द्रीय अनुसन्धान ब्युरो, महाराजगन्जलाई अनुसन्धान मिसिलको प्रतिलिपि सात दिन भित्र उपलब्ध गराउन पत्राचार गरेको जनाएको छ।
आयोगले यस घटनामा आफ्नो स्व–विवेकीय क्षेत्राधिकार प्रयोग गरेर अनुसन्धान अघि बढाएको स्पष्ट पारेको छ।
‘नेपाल बाल सङ्गठनको जग्गा भाडामा लगाउँदा भएको अनियमिततामा तत्कालीन अध्यक्ष रिता सिंह वैद्यको संलग्नता रहेको तर सत्ता र शक्तिको आडमा निज उपर मुद्दा नचलाउने भनी सरकारी वकिल कार्यालय, काठमाडौँले निर्णय गरेको भनी विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचारप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
