समाचार

घाइते अर्थमन्त्री र मेयर भेट्न राष्ट्रपति बर्न अस्पतालमा, लिए स्वास्थ्य अवस्थाको जानकारी

४ फागुन, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। आज राष्ट्रपति पौडेल कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेर उपचाररत अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। 

राष्ट्रपति पौडेलसँगै सभामुख देवराज घिमिरे, स्वास्थ्यमन्त्री प्रदीप पौडेल, सचिव डा.रोशन पोखरेल र हरिप्रसाद मैनाली लगायत पनि मन्त्री पौडेललाई भेट्न अस्पताल पुगेका थिए।  अस्पतालका निर्देशक किरणकिशोर नकर्मीलगायतका चिकित्सकले उपचाररत मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराएका छन्। 

उपप्रधानमन्त्री पौडेल र मेयर आचार्य पोखरामा शनिवार भएको एक कार्यक्रम उद्घाटनका क्रममा भएको घटनामा आगो लागेर घाइते भएका थिए। अटोमेटिक स्विच थिचेपछि बलेको बत्तिको ज्वाला हाइड्रोजन भरिएको बेलुनमा पुग्दा बेलुन फुटेर उनीहरू घाइते भएका हुन् ।

 अर्थमन्त्री पौडेलको दुवै हात, अनुहार र घाँटी आसपासमा क्षति पुगेको छ भने मेयर आचार्यको अनुहारको भाग जलेको छ ।

उनीहरूलाई शनिवारै बर्न अस्पतालको आइसियुमा भर्ना गरेर उपचार सुरु गरिएको छ।