४ फागुन, काठमाडौँ । सरकारले संसद्मा पेस गरेको ६ वटा अध्यादेश तत्काल अघि नबढ्ने भएको छ। सरकार पक्षकै कारण अध्यादेशहरू संसदीय प्रक्रियामा अगाडि बढ्ने प्रक्रिया थप लम्बिने भएको हो।
प्रतिनिधि सभाको बैठक आज सहित लगातार ३ दिन बस्ने भएता पनि संसद्को कार्यसूचीमा अध्यादेशलाई निर्णयार्थ पेस गर्ने बारे सरकार पक्ष नै अन्योलमा रहेको हो। संसद् बैठक आइतबार, सोमबार र मङ्गलवार लगातार बस्दै छ । यी तीन वटै बैठकमा अध्यादेश अगाडि बढाउने कार्यक्रम नराखिने भएको हो।
आज बिहान मात्रै सत्तापक्षका प्रमुख सचेतकहरूको बैठक सिंहदरबारमा बसेको थियो । नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा अध्यादेश अगाडि बढाउनेबारे छलफल भएको थियो।
एमालेका मुख्य सचेतक महेश बर्तौलाले संसद्मा टेबुल भएका अध्यादेशबारे केही छलफल भइरहेको जानकारी दिए। उनले अब बस्ने कुन बैठकमा कार्यसूचीमा समावेश गरेर जान सकिन्छ भनेर बारेमा पनि छलफल गरेको बताए। तर कुन दिन संसद्मा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने भन्ने ठ्याक्कै तय भइनसकेको बताए। उनले लगातार छलफलमा भएका कारण अध्यादेश निर्णयार्थ पेस गर्ने दिनको बारेमा यसै भन्न नसकिने तर तत्कालैको बैठकमा पेस नहुने जानकारी दिएका हुन्।