४ फागुन, काठमाडौँ । हिजो पोखरामा घाइते भई उपचाररत उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसँगको भेटघाटका बन्द गरिएको छ । कीर्तिपुर बर्न अस्पतालले विज्ञप्ति जारी गर्दै सङ्क्रमण बढ्ने जोखिम भएकाले अहिलेलाई भेटघाटका बन्द गरिएको जनाएको हो।
अस्पताल प्रशासनका अनुसार हिजोको तुलनामा घाइते दुबैजनाको स्वास्थ्यमा सुधार भएको छ । अस्पतालका निदेशक डा. किशोर नकर्मी र मेडिकल डाइरेक्टर डा. निजीता ताम्राकारले जारी गरेको विज्ञप्तिमा हिजोको तुलनामा उनीहरूको स्वास्थ्य सुधार भएको भनिए पनि घाउको अवस्थाबारे आज ड्रेसिङ भएपछि मात्रै जानकारी गराइने उल्लेख छ।
हाललाई अवस्था सामान्य भएता पनि सङ्क्रमण हुने भएकोले हाललाई भेटघाट अर्को सूचना नआएसम्म पूर्ण रूपमा बन्द गरिएको छ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा भनिए अनुसार अर्थमन्त्री पौडेल र मेयर आचार्यको उपचारमा प्रा. डा. वि.डी झा, डा. प्रविण गिरी संलग्न छन्। त्यस्तै सघन उपचार कक्षमा, प्रा. डा. शंकर मान राई, डा. विशाल कार्की, डा. मनिय यादव लगायतको जलन विशेषज्ञहरूको टोली रहेका छन्, भने डा. प्रयुस अर्याल लगायतका आकस्मिक उपचार टोली, डा. रिना गौचन, निर्मला कुंवर, तृष्णा महर्जन लगायतको नसिंङ टोली संलग्न रहेका छन्।
शनिवार पोखरामा आयोजित पोखरा भ्रमण वर्ष कार्यक्रमको उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट हुँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए । अटोमेटिक स्विच थिचेपछि बलेको बत्तिको ज्वाला हाइड्रोजन भरिएको बेलुनमा पुग्दा बेलुन फुटेर उनीहरू घाइते भएका हुन् । अर्थमन्त्री पौडेलको दुवै हात, अनुहार र घाँटी आसपासमा क्षति पुगेको जनाइएको छ । मेयर आचार्यको अनुहारको भाग जलेको थियो । घटना लगत्तै उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो।