समाचार

प्रकृति लम्साल मृत्यु प्रकरणले तात्यो दुवै सदनको बैठक

६ फागुन, काठमाडौँ । भारतको ओडिसा राज्यस्थित एक कलेजमा भएको नेपाली विद्यार्थीको रहस्यमय मृत्युको घटनालाई लिएर सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। आज बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुवै सदनको बैठकमा बोल्दै सांसदहरूले विदेशी भूमिमा नेपालीबारे धावा बोल्ने काम भएकोले सरकारले उचित कूटनीतिक कदम चाल्नुपर्नेमा ध्यानाकर्षण गराएका हुन्। 

भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु भएको थियो। यो विषयमा आवाज उठाउने नेपाली विद्यार्थीहरूमाथि गलत व्यवहार भएको भन्दै सांसदहरूले गम्भीरतापूर्वक लिनु पर्ने बताएका हुन्। 

यस घटनाले  देशकै स्वाभिमान निहुरिएको र नेपालीको स्वाभिमानमाथि विदेशी भूमिमा धावा बोलिएको अधिकांश सांसदहरूको भनाइ छ। 

आकस्मिक र शून्य समयमा समेत सांसदहरूले उडिसा घटनाको अविलम्ब र सत्य तथ्य छानबिन हुनुपर्ने भन्दै यसका लागि नेपाल सरकारले बलियो कूटनीतिक पहल गर्नुपर्ने समेत बताएका थिए।