समाचार

प्रकृति लम्साल मृत्यु प्रकरण: केआईआईटी कलेजले माफी माग्यो (हेर्नुहोस् विज्ञप्ति)

६ फागुन, काठमाडौँ। भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)कलेजले नेपाली विद्यार्थीहरूमाथि गरेको ज्यादती र दुर्व्यवहार प्रतिमाफी मागेको छ । नेपाली विद्यार्थी प्रकृति लम्सालको शङ्कास्पद मृत्यु पछि नेपाली विद्यार्थीहरूमाथि गरेको दुर्व्यवहारको घटनाप्रति कलेजका उपकुलपति शरणजित सिंहले विज्ञप्ति जारी गरी माफी मागेका हुन् ।

विज्ञप्तिमा भनिएको छ,‘नेपाली विद्यार्थीप्रति भएको दुर्व्यवहार र हाम्रो कलेको कर्मचारीको गैर जिम्मेवार व्यवहारप्रति हामी अत्यन्तै दुःखी हुँदै माफी चाहन्छौँ, हामी नेपाली विद्यार्थीलाई त्यतिकै माया गर्छौँ जति भारत र विश्वका विद्यार्थीहरूलाई गर्छौँ।’

विज्ञप्तिमा नेपाल फर्किएका सबै नेपाली विद्यार्थीहरूलाई आफ्नो कक्षामा सहभागी हुन भनिएको छ। उक्त कलेजले नेपालबाट पढ्न गएका १४ सय विद्यार्थीमाथि अपमानजनक व्यवहार गर्दै होस्टेलबाट निकाल्ने काममा संलग्न कर्मचारीमाथि कारबाही गरिसकेको जनाएको छ।  केआइआइटी प्रशासनले नेपाली विद्यार्थीलाई कुटपिट गर्ने दुईजना सुरक्षाकर्मी, छात्रावासका दुई वार्डेन र प्रशासनिक अधिकारीलाई निलम्बन गरेर आन्तरिक जाँचबुझ थालिएको कलेजले विज्ञप्तिमार्फत जनाएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका दुई वरिष्ठ होस्टेल अधिकारीहरू र एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धान नभएसम्म निलम्बन गरिएको भनिएको छ। 

क्याम्पस कर्मचारीहरूले नेपाली विद्यार्थीलाई सकेसम्म चाँडो क्याम्पसमा फर्काउन क्याम्पसमा नेपाली विद्यार्थीहरूलाई सहजीकरणको लागि कन्ट्रोल रुम सञ्चालन गरिएको विज्ञप्तिमा उल्लेख छ।