समाचार

चलचित्र ‘लाज शरणम’को प्रचारप्रसारमा अदालतले रोक लगायो (हेर्नुहोस् अन्तरिम आदेश)

७ फागुन, काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर फागुन १४ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लाज शरणम’ को प्रचारप्रसारमा अदालतले रोक लगाएको छ। प्रदर्शनको अन्तिम तयारीमा रहेको उक्त चलचित्रको प्रचारप्रसार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा नगर्न र नगराउन पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो। 

उक्त चलचित्रमा काँग्रेस नेता तथा पूर्व मन्त्री मोहम्मद अफताव आलमले आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज आफ्नो अनुमतिबिना प्रयोग गरिएको र त्यसलाई रोक्न माग गर्दै गत माघ २४ गते अदालतमा रिट दायर गरेका थिए। सोही रिटमा हिजो मङ्गलवार सुनुवाइ गर्दै न्यायाधीशद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश दिएको हो।

पूर्व मन्त्री आलमले चलचित्र विकास बोर्ड, नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, केन्द्रीय जाँच समिति, ओएसआर डिजिटल इन्टरटेनिङ द नेसन प्रालि., जेपीटी क्रियसन प्रालि, जेपीटी क्रियसन प्रालिका सञ्चालक एवं चलचित्रको कार्यकारी निर्माता अर्जुन घिमिरे ‘पाँडे’, चलचित्रको लेखक तथा निर्देशक कुमार कट्टेल र चलचित्रमा मोहम्मद अफताब आलमको मुखाकृत आवरणमा अभिनय गर्ने कलाकार सीताराम कट्टेल ‘धुर्मुस’लाई प्रतिवादी बनाएका थिए। 

अदालतको यस आदेशसँगै चलचित्रको आज बुधवार सार्वजनिक गर्ने भनिएको ट्रेलर रोकिएको छ। चर्चित टेलिसिरियल सक्किगोनि टिमले बनाएको यस फिल्ममा कुमार कट्टेल ‘जिग्री’ले लेखन तथा निर्देशन गरेका हुन्। 

पाटन उच्च अदालतको आदेश: