समाचार

प्रकृति लम्साल मृत्यु प्रकरण: कलेजका महानिर्देशक सहित ३ जना पक्राउ

७ फागुन,काठमाडौँ। प्रकृति लम्साल मृत्यु प्रकरणमा थप तीन जना पक्राउ परेका छन्। भारतको ओडिशा राज्यस्थित भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआईआईटी) मा शङ्कास्पद अवस्थामा मृत भेटिएकी नेपाली छात्रा लम्सालको मृत्यु प्रकरणमा कलेजका महानिर्देशक सहित ३ जना पक्राउ परेका हुन्। 

पक्राउ पर्नेहरूमा कलेजका मानव स्रोत महानिर्देशक ५९ वर्षीय शिवनन्द मिश्र, प्रशासन निर्देशक ५० वर्षीय प्रतापकुमार चमुपती, छात्रावास निर्देशक सुधीरकुमार राठलाई पक्राउ गरेर हिरासतमा लिएको भुवनेश्वर प्रहरीले जनाएको छ। 

लम्सालको मृत्युपछि छानबिनको माग गर्दै नेपाली विद्यार्थीमाथि कुटपिट र दुर्व्यवहारमा संलग्न केआईआईटी विश्वविद्यालयका सुरक्षा गार्डहरू ४५ वर्षीय रमाकान्त नायक, रवीन्द्र नायक, जोगेन्द्र बहेरा र बेगु बहेरालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

भुवनेश्वर प्रहरीले सोमबार नै केआईआईटीमा अध्ययनरत भारतीय युवा २१ वर्षीय अद्विक श्रीवास्तवलाई पक्राउ गरिसकेको छ । उनलाई अहिले हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । उनको शारीरिक तथा मानसिक यातनाकै कारण प्रकृतिले आत्महत्या गर्न बाध्य भएको समाचार आइरहेका छन् ।

गत आइतबार अपराह्न ४ बजे २० वर्षीया प्रकृति होस्टलको कोठामा मृत भेटिएकी परेकी थिइन् । साँझबाटै विद्यार्थीहरूले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए । तर, कलेज प्रशासनले प्रदर्शनमा उत्रिएका ७ सय बढी नेपाली विद्यार्थीमाथि बाहिरका युवा र सुरक्षा गार्ड लगाएर कुटपिट गर्दै निकालेको थियो ।

यस घटनालाई लिएर कलेज प्रशासनले पटक पटक माफी मागी सकेको छ ।