८ फागुन, काठमाडौँ । चर्चित कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘मह’ जोडीले आफूहरूले कुनै पनि धर्मको विरोध नगरेको बताएका छन्। आज बिहान संयुक्त रूपमा भिडियोमार्फत उनीहरूले यूएसएडको पैसा खाएर हिन्दु धर्मको विरोध गरे भनेर अनर्गल प्रचार गरिएको गुनासो गर्दै आफूहरूले त्यसो नगरेको स्पष्टीकरण दिएका हुन्।
तर आफूहरूले कुनै पनि धर्मको विरोध नगरेको र कुनै धर्ममा जान नउकासेको ‘मह’ जोडी मध्यका हरिवंश आचार्यले बताएका छन्। व्यङ्ग्य भनेको नेता, वकिल, डाक्टर तथा पण्डित सबैलाई गर्न पाइने उनको भनाइ छ।
आफूहरूले मदनबहादुर हरिबहादुर, आमा, असल लोग्ने र विभिन्न किसिमका खोपका कार्यक्रमहरूमा काम गरेको र ती सबै युट्युबमा भएकाले हेर्न पनि उनले अनुरोध गरेका छन् ।
भिडियोमा कलाकार आचार्यले भनेका छन् ‘कहीँ पनि सनातन हिन्दु धर्म, बुद्ध धर्म र अरू कुनै पनि धर्मको विरोध हामीले गरेका छैनौँ। र, अर्को धर्म लिनुपर्छ भनेर उकासेका पनि छैनौँ। यो अनर्गल प्रचार हो’, भिडिओ सन्देशमा हरिवंशले भनेका छन्, ‘हामीले ०५२ सालमा यो पञ्चायत व्यवस्थाको सराद्धे भन्ने एउटा कार्यक्रम गर्यौँ। त्यसमा एउटा पण्डितको पात्रको प्रवृत्तिको व्यङ्ग्य गरेका छौँ। र, पण्डित भन्दैमा भगवान् हुँदैन। म पनि पण्डितकै छोरा हुँ। र, व्यङ्ग्य भनेको नेतालाई पनि गर्न पाइन्छ। पण्डितलाई पनि गर्न पाइन्छ।’