८ फागुन, काठमाडौँ । राजेन्द्र महतोको नेतृत्वमा रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालको टोली र प्रहरीबिच झडप भएको छ। आज पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै पुगेको उक्त टोली र प्रहरीबिच झडप भएको हो।
झडपमा ११ जना सुरक्षाकर्मी र एक जना आन्दोलनकारी घाइते भएको बताइएको छ। आक्रमणबाट नेपाल प्रहरीका ६ जना र सशस्त्र प्रहरीका ५ जना घाइते भएका छन्। आन्दोलनकारीतर्फ एक जना घाइते भएका हुन्।
महतोसहित रकम चेमजोङ, डकेन्द्र थेगिम लगायतले नेतृत्व गरेको टोलीले दिउँसो तीन बजेतिर निर्माणस्थलमा प्रवेश गरेर सुरक्षा घेरा तोड्दै ढुंगामुडा प्रहार गरेको बताइएको छ।
मुकुम्लुङ क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार परियोजनाको विरोध गर्दै राष्ट्रिय मुक्ति पार्टीले यस्तो कार्यक्रम गरेको हो। यसअघि आन्दोलनरत पक्ष र सरकारीपक्षबिच वार्ता भए पनि सहमति जुट्न सकेको छैन।





