शिक्षा

श्रम शोषण भएको भन्दै नेपाल मेडिकल कलेज जोरपाटीका डाक्टर आन्दोलित

२४ चैत, काठमाडौँ । आफूहरूमाथि श्रम शोषण भएको भन्दै नेपाल मेडिकल कलेज जोरपाटीका डाक्टर आन्दोलित भएका छन् । उनीहरूले सरकारले तोकेको न्यूनतम तलब ४८ हजार पाउनु पर्नेमा नपाएको भन्दै उनीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

डाक्टरहरूले सरकारले मन्त्रिपरिषद्‌बाट पारित भएको न्यूनतम तलब ४८ रहेको तर आफूहरूले १९ हजार पाँच सय मात्रै पाएको भन्दै आन्दोलित बनेका हुन्। 

स्वास्थ्य शिक्षा माथिको चरम व्यापारीकरण नियन्त्रण गर, पीजी सिटको कालोबजारी बन्द गर, स्वास्थ्य शिक्षामाथि राजनीति बन्द गर, आवासीय चिकित्सकमाथिको श्रम शोषण बन्द गर, लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्। 

माइतीघरमा धर्नामा उत्रिएका डाक्टरहरूले चिकित्सा शिक्षा आयोगको बैठकले गरेका निर्णय कार्यान्वयन नभएको, स्वास्थ्य शिक्षामाथि व्यापारीकरण नरोकिएको जस्ता विषय उठाएका छन्। गत माघ २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।