२३ असार, काठमाडौं । अदालतबाट छुटेलगत्तै गुण्डा नाइकेको छवि बनाएका मोरङका अभिषेक गिरीलाई प्रहरीले पुनः पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई ठगी तथा आपराधिक विश्वासघातको आरोपमा नियन्त्रणमा लिएर काठमाडौं ल्याएको हो।
सीआईबीका अनुसार गिरीले निर्माण व्यवसायी सुभाष श्रेष्ठलाई ठेक्का मिलाइदिने भन्दै रकम असुल गरेको र विश्वासघात गरेको आरोप छ। श्रेष्ठका निर्माण सामग्री तथा सवारीसाधनसमेत नियन्त्रणमा लिएर जानकारीबिनै बिक्री गरेको आरोपमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गिरीले केही सवारीसाधन कब्जामा लिएको, काठमाडौंस्थित घरजग्गा राजीनामा गराएको र चेकमार्फत रकम लिएको आरोपसमेत छ।
यसअघि मोरङका कैदीबन्दीबाट रकम असुल गरेको आरोपमा पक्राउ परेका गिरी अदालतको आदेशपछि रिहा भएका थिए। तर रिहा हुनेबित्तिकै सीआईबीले अर्को कसुरमा पक्राउ गरेको हो।
शरीर बन्धक तथा अपहरण मुद्दामा करिब ९ वर्ष जेल बसेका गिरी कारागारभित्र रहँदा पनि विवादमा आउने गरेका थिए। जेलबाट छुटेपछि उनले सामाजिक गतिविधिमा सक्रिय हुने भन्दै फाउन्डेसन स्थापना गरेका थिए भने पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा समेत सक्रिय देखिएका थिए।





