२३ असार, काठमाडौं । विदेशबाट फर्किएका नेपाली श्रमिकको पहिलो मासिक औसत आम्दानी ५४ हजार ४०३ रुपैयाँ रहेको सरकारी सर्वेक्षणले देखाएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO)को सहयोगमा गरेको पहिलो आप्रवासी भर्ना लागत सर्वेक्षण–२०२३ ले यस्तो तथ्य सार्वजनिक गरेको हो।
सर्वेक्षणअनुसार नेपाली कामदारको पहिलो तलब सबैभन्दा बढी मलेसियामा ५७ हजार ६९६ रुपैयाँ रहेको छ। त्यसपछि कतार र संयुक्त अरब इमिरेट्स (यूएई) मा औसत मासिक आम्दानी करिब ५५ हजार रुपैयाँ रहेको देखिएको छ। सबैभन्दा कम औसत आम्दानी भने भारतमा २६ हजार ८३ रुपैयाँ रहेको छ।
सर्वेक्षणले पुरुष श्रमिकको औसत आम्दानी महिलाको तुलनामा बढी रहेको देखाएको छ। साथै, करिब ३४.७ प्रतिशत श्रमिकले कुनै शुल्क नतिरी वैदेशिक रोजगारीमा गएको बताएका छन् भने अधिकांशले विदेश जान ठूलो भर्ना लागत बेहोर्नुपरेको तथ्यांकले देखाएको छ।





