समाचार

सरकारले शिक्षक महासङ्घलाई पुनः वार्तामा बोलायो 

२६ चैत, काठमाडौँ । शिक्षा ऐन जारी गर्नु पर्ने एक सूत्रीय माग राख्दै आन्दोलनमा रहेका शिक्षकहरूलाई सरकारले पुनः वार्ता र संवादको लागी  बोलाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै भोली चैत २७ गते वार्तामा आउन आग्रह गरेको हो। 

मन्त्रालयले चैत २१ र २२ गते छलफलको लागी बोलाए पनि छलफल हुन नसकेकाले पुनः वार्ता र संवादको लागी आह्वान गरेको मन्त्रालयका प्रवक्ता शिबकुमार सापकोटाले जारी गरेको विज्ञप्तिमा जनाएको छ । 

शिक्षक महासङ्घले भने वार्ता र संवादको औचित्य नभएको भन्दै शिक्षा ऐन जारी गर्नु आन्दोलनरत शिक्षकहरूको एक मात्र माग रहेको बताइसकेको छ। उसले यस अघि वार्ता र संवाद मार्फत भएका सहमति कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्दै आएको छ। 

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐनको माग गर्दै देश भरका शिक्षकहरू काठमाडौँ  केन्द्रित आन्दोलनमा छन् ।

 आफ्नो दोस्रो चरणको निर्णायक आन्दोलन भन्दै माग पुरा नभए सम्म आन्दोलन नरोक्ने शिक्षकहरूले अडान लिएका छन्।